गुजरात, भारत। गुजरात राज्यको गान्धीनगरमा नक्कली न्यायाधीशले नौ वर्षसम्म झुठा अदालत सञ्चालन गरेको खुलासा भएको छ। गान्धीनगरको एक सपिङ सेन्टरमा, न्यायाधीशको पोसाकमा सजिएका मोरिस क्रिस्चियनले साँघुरो कोठामा “अदालत” सञ्चालन गर्दै आएका थिए। धेरैले उनलाई सक्कली न्यायाधीश ठानेर आफ्ना मुद्दाको फैसला गराइरहेका थिए।
अदालतको वातावरण जस्तै देखिए पनि साँझ परेपछि मोरिस सेवाग्राहीहरूसँग अनौपचारिक कुराकानी गर्थे। उनले पैसा लिएर मुद्दा आफ्नो पक्षमा फैसला गर्ने प्रस्ताव राख्थे। घटनाको पर्दाफास भएपछि प्रहरीले उनलाई पक्राउ गरी सिटी सिभिल कोर्टका न्यायाधीश समक्ष पेश गर्यो, जहाँ उनले आफ्नो नक्कली काम स्वीकार्नुपर्यो।

प्रहरीका अनुसार, मोरिसले अदालतजस्तो कार्यस्थल सिर्जना गरी आफूलाई मध्यस्थकर्ता तथा न्यायाधीशको भूमिकामा प्रस्तुत गरिरहेका थिए। उनको मुख्य काम विवादित मुद्दाहरूको “फैसला” गरिदिनु थियो, जसका लागि उनले शुल्कसमेत असुल्थे। उनले बडोदरा र अहमदाबादका मानिसहरूको मुद्दा पनि आफ्नो नक्कली अदालतमार्फत टुंग्याएको दाबी गरेका छन्।
यस्तो घटनाले भारतमा नक्कली कार्यालय र नक्कली अधिकारीको गतिविधि कडा रूपमा हेर्नुपर्ने आवश्यकता देखाएको छ। यसअघि पनि नक्कली सरकारी अधिकारीहरू र नक्कली कार्यालयहरू पक्राउ परेका घटनाहरू बाहिर आइसकेका छन्।


