वीरगञ्ज । तिहार पर्वलाई मध्यनजर गर्दै अखाद्य पदार्थ मिसाएर लड्डु उत्पादन गरिरहेका वीरगञ्जका दुई लड्डु उद्योगहरूमा आइतबार बजार अनुगमन समितिले छापा मारेर सिलबन्दी गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगञ्जका प्रमुख सुनिल चौरसियाको नेतृत्वमा भएको अनुगमनमा श्रीपुर र रानीघाटका दुई उद्योगहरूमा स्वास्थ्यलाई हानि पुर्याउने सामाग्री प्रयोग गरेर लड्डु बनाइएको भेटिएको हो।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि गौरीशंकर गुप्ताले बताएअनुसार, भारतीय नागरिकले श्रीपुर र रानीघाटमा घर भाडामा लिएर सञ्चालन गरिरहेका ती उद्योगहरूमा अखाद्य रसायन, कृत्रिम रंग र बेसनको सट्टा कनिका र गहुँको पिठो मिसाएर लड्डु बनाइरहेका थिए। यस क्रममा श्रीपुरस्थित उद्योगको सञ्चालनमा बिहारका निरज यादव र रानीघाटस्थित उद्योगमा जमुईका वीरेन्द्र यादव संलग्न थिए, जसले बिना अनुमति हानिकारक खाद्य वस्तुको उत्पादन गरिरहेका थिए।
गुप्ताका अनुसार ती उद्योगहरूले कमसल गुणस्तरको लड्डु वीरगञ्जका विभिन्न मिठाइ पसल र होटलहरूमा प्रतिकिलो १५० रुपैयाँमा बेच्दै आएका थिए। सरकारले कुनै पनि दर्ता नगरेका र अनाधिकृत रूपमा सञ्चालन गरिएका यी उद्योगहरूलाई तत्काल सिलबन्दी गरिएको छ। साथै, श्रीपुरका सञ्चालक निरज यादवलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ भने रानीघाटका सञ्चालक वीरेन्द्र यादवविरुद्ध थप कारबाहीको निर्णय अनुगमन समितिको बैठकपछि गरिने जानकारी दिइएको छ।
त्यस्तै, मूर्ली चोकस्थित क्षीर सागर होटलमा पनि अनुगमन गर्दा ती अखाद्य लड्डु बिक्रीको लागि राखिएको पाइएपछि होटल सञ्चालकलाई समेत २० हजार रुपैयाँ जरिवाना गरिएको छ। अनुगमनमा वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष रचेन्द्र थापा, उपभोक्ता हित संरक्षण मञ्चका अजित भुजेल, वीरगञ्ज उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


