Oplus_131072
उदयपुर, ३ चैत ।
आइतबार साँझ परेको वर्षासँगै आएको तीव्र हावाहुरीका कारण उदयपुरको कटारी क्षेत्रमा दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।
ज्यान गुमाउनेहरूमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधाकृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनाइएको खाजाघरमाथि हावाहुरीका कारण सुकेको सालको रुख ढलेपछि चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
सोही घटनामा रुखले किचेर पाँच जना घाइते भएका छन्। घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, २७ वर्षीय युवराज कार्की, ४६ वर्षीय लीला बहादुर दनुवार, ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा १६ वर्षीया अस्मिता परियार रहेका छन्। उनीहरू सबैको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएकी बालिका बिनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा करिब ४० मिनेटपछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।
त्यस्तै, कटारी नगरपालिका–८ की मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्ने क्रममा हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइए पनि चिकित्सकले राति ९:१० बजे मृत घोषणा गरेका थिए।
घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका कटारी नगरपालिका–५ बलाहाका ४६ वर्षीय लीला बहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ।


