वीरगञ्ज, २१ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका–१७ अलौँमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका दैनिक जीवनसँग जोडिएका समस्या, आवश्यकता र अपेक्षाहरू सुनेका थिए ।
अपेक्षाहरू सुन्नुका साथै कानुले आफ्नो चुनावी एजेन्डा स्थानीय स्तरबाटै उठेका आवाजहरूमा आधारित रहेको बताउँदै विकास र सेवा प्रवाहलाई केन्द्रमा राखेको उल्लेख गरे । उनले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खानेपानी तथा सुशासनलाई आफ्नो प्राथमिकताको सूचीमा राखेका छन् ।
कानुले क्षेत्रका विद्यालयहरूको गुणस्तर सुधार गरी सबै बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने, युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, स्वास्थ्य सेवाको पहुँच विस्तार गरी सहज तथा प्रभावकारी उपचार सुनिश्चित गर्ने, सुरक्षित र पर्याप्त खानेपानीको व्यवस्था गर्ने तथा भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी प्रशासन निर्माण गरी सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आफूले उठाएको सबै मुद्दालाई संसद्मा दृढतापूर्वक उठाउने र व्यावहारिक परिणाम देखाउने गरी काम गर्ने कानुले वाचा समेत गरे । उनले जनतासँग निरन्तर संवाद कायम राख्दै विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने बताएका छन् ।


