काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ। शपथ ग्रहणसँगै उनले नयाँ मन्त्रिपरिषद् गठन तथा विस्तारलाई तीव्रता दिने तयारी गरेका छन्।
पार्टी स्रोतका अनुसार रास्वपाले केही मन्त्रालयका लागि मन्त्रीहरूको नाम प्रारम्भिक रूपमा टुंग्याइसकेको छ। अर्थ मन्त्रालयमा स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र कानून मन्त्रालयमा सोविता गौतमलाई जिम्मेवारी दिने सहमति बनेको बताइएको छ।
अन्य मन्त्रालयको बाँडफाँड र नेतृत्व चयनका विषयमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री बन्न लागेका बालेन शाह तथा उपसभापतिहरूबीच निरन्तर छलफल भइरहेको छ। विशेषगरी गृह मन्त्रालयको नेतृत्व कसलाई दिने भन्ने विषयमा गहन बहस जारी रहेको स्रोतको भनाइ छ।
गृहमन्त्रीका लागि सुधन गुरुङको नाम चर्चामा रहेको छ। आन्दोलनबाट उदाएका नेताको रूपमा उनलाई उक्त जिम्मेवारी दिन सकारात्मक धारणा देखिए पनि गृह मन्त्रालयको संवेदनशीलता ध्यानमा राख्दै अन्तिम निर्णय भने अझै भएको छैन। यद्यपि उनलाई मन्त्रिपरिषद्मा समेट्ने विषयमा भने सहमति नजिक पुगेको जनाइएको छ।
नयाँ सरकार गठनसँगै रास्वपाले सुशासन, पारदर्शिता र सुधारमुखी एजेन्डालाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।


