काठमाडौं:
नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउलाई गैरकानुनी र प्रतिशोधपूर्ण कदम भएको ठहर गर्दै कडा विरोध जनाएको छ। आज बिहान बसेको आकस्मिक सचिवालय बैठकले दुवै नेताको गिरफ्तारीप्रति असन्तुष्टि जनाउँदै कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा सम्पन्न बैठकपछि महासचिव शंकर पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै पक्राउ प्रक्रिया पूर्वाग्रही र लोकतान्त्रिक मूल्यविपरीत रहेको बताए। उनले अध्यक्ष ओली र नेता लेखकलाई सूर्योदयअघि नै पक्राउ गर्नु कानुनी राज्यको मर्मविपरीत भएको आरोप लगाए।
एमालेले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै देशभर विरोध कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। सोहीअनुसार आज अपराह्न ३ बजे सबै जिल्ला सदरमुकाममा जनसंगठनहरूको नेतृत्वमा प्रदर्शन गरिनेछ।
त्यसैगरी, भोलि चैत १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीहरूको आयोजनामा प्रमुख जिल्ला अधिकारी कार्यालयमार्फत विरोधपत्र बुझाइने कार्यक्रम तय गरिएको छ। एमालेले लोकतन्त्र र विधिको शासनको पक्षमा रहेका अन्य राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणसँग सहकार्य गर्ने रणनीति पनि अघि सारेको छ।
यसैबीच, ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बैठक चलिरहँदा काठमाडौंको चाबहिल क्षेत्रमा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्।
उल्लेखनीय छ कि जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले आज बिहान दुवै नेतालाई नियन्त्रणमा लिएको हो।


