वीरगञ्ज । वीरगञ्जस्थित एक कुखुरा फर्ममा कार्यरत मजदुरमाथि निर्ममतापूर्वक कुटपिट गरिएको घटना सार्वजनिक भएपछि सम्बन्धित सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, वीरगञ्ज महानगरपालिका–१७ का ३० वर्षीय सकिन लाल देवानलाई कामदारमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरिएको हो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिन थालेपछि प्रहरी सक्रिय भएर अनुसन्धान अघि बढाएको थियो।
परवानीपुर प्रहरी चौकी आसपास रहेको “साबिर फ्रेस हाउस एण्ड सप्लायर्स” सञ्चालन गर्दै आएका देवानले आफ्नै फर्ममा कार्यरत २० वर्षीय नुर आलम देवानमाथि लठ्ठी प्रहार गरेको दृश्य सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएसँगै स्थानीय स्तरमा समेत विरोध बढेपछि प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र पीडितको अवस्था तथा घटनाको वास्तविकता खुलाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।


