Oplus_131072
काठमाडौं। कपिलवस्तु जिल्लामा दुई समुदायबीच उत्पन्न तनावपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तेस्रो दिनसम्म पनि कायम रहेको छ। महाराजगञ्ज बर्गदवा क्षेत्रमा केही दिनअघि भएको झडपपछि स्थिति नियन्त्रणमा राख्न प्रशासनले ७ चैतदेखि निषेधाज्ञा लागू गरेको हो।
जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे ले सुरक्षा अवस्था पूर्ण रूपमा सामान्य नभएसम्म निषेधाज्ञा यथावत रहने जानकारी दिएका छन्। उनका अनुसार परिस्थिति सुधारोन्मुख रहेकाले भोलिसम्म प्रतिबन्ध हट्ने सम्भावना रहेको छ।
घटनाको सुरुआत धार्मिक गतिविधिसँग सम्बन्धित विषयबाट भएको जनाइएको छ। ईदका अवसरमा मस्जिदमा नमाज चलिरहेका बेला नजिकैको काली मन्दिरमा उच्च ध्वनिमा भजन बजाइएको विषयलाई लिएर विवाद चर्किएको थियो। ध्वनि कम गर्न गरिएको आग्रह बेवास्ता भएपछि दुवै पक्षबीच तनाव बढ्दै गएको प्रहरीले जनाएको छ।
तनाव उग्र बन्दै जाँदा दुवै समुदायका युवाबीच ढुंगामुढासमेत भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रयोग गरेका थिए।
यसै क्रममा प्रदर्शनकारीहरूले तौलिहवा–बहादुरगञ्ज सडक खण्ड अन्तर्गत गैंडहवा क्षेत्रमा टायर बालेर सडक अवरुद्ध गरेका थिए।
हाल सुरक्षा निकायको सक्रियता बढाइएपछि अवस्था क्रमशः सामान्यतर्फ उन्मुख भइरहेको प्रशासनले जनाएको छ।


