पर्साको कालिकामाई गाउँपालिकास्थित बिरञ्चीबर्वा विद्यालयमा नयाँ भवन निर्माण कार्य अघि बढाइएको छ। गाउँपालिकाको योजनाअन्तर्गत दिव्य कन्या माध्यमिक विद्यालयका लागि ५५ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिने भएको हो।
उक्त भवनको शिलान्यास गाउँपालिका अध्यक्ष वशिष्ठ गुप्ताले एक कार्यक्रमबीच गर्नुभएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
अध्यक्ष गुप्ताले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार विस्तारमा जोड दिइरहेको बताउनुभयो। नयाँ भवन निर्माणपछि विद्यार्थीलाई सहज र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर मिल्ने विश्वास व्यक्त गरिएको छ।
स्थानीयवासीले पनि भवन निर्माणले विद्यालयको शैक्षिक स्तर सुधारमा टेवा पुग्ने अपेक्षा गरेका छन्।


