काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट चयन भएका ११० सांसदलाई आज निर्वाचन आयोगले औपचारिक रूपमा निर्वाचित प्रमाणपत्र प्रदान गर्दैछ। यससँगै निर्वाचनको अन्तिम चरण पूरा हुने भएको छ।
निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको विवरणअनुसार विभिन्न राजनीतिक दलबाट समानुपातिकतर्फ सांसदहरू चयन भएका छन्। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सबैभन्दा बढी ५७ जना रहेका छन् भने नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६ र नेकपा (माओवादी केन्द्र)का ९ जना सांसद निर्वाचित भएका छन्। त्यस्तै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट समान ४–४ जना प्रतिनिधित्व गर्नेछन्।
आज प्रमाणपत्र वितरण सम्पन्न भएपछि आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ को समग्र प्रतिवेदन पनि राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरेको छ। उक्त प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुने मार्ग खुल्नेछ।
संविधानको धारा ७६ (१) बमोजिम सरकार गठनका लागि आह्वान गर्न सकिने अवस्था सिर्जना हुनेछ। यसैबीच, सबै निर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रम चैत १२ गतेका लागि तय गरिएको आयोगले जनाएको छ।


