मकवानपुरमा अवस्थित हेटौँडा सिमेन्ट उद्योग मा पुनः उत्पादन अवरुद्ध भएको छ। उद्योगले कोइलाको पर्याप्त आपूर्ति हुन नसकेको जनाउँदै आज बिहानदेखि सिमेन्ट उत्पादन पूर्ण रूपमा बन्द गरेको जनाएको छ।
करिब एक महिनाअघि मात्रै सञ्चालनमा फर्किएको उद्योग पुनः कच्चा पदार्थको अभावका कारण प्रभावित बनेको हो। उद्योग व्यवस्थापनले ३ हजार मेट्रिक टन कोइला खरिदका लागि बोलपत्र आह्वान गरिसकेको जनाएको छ।
उद्योगका सहायक प्रबन्धक विकास श्रेष्ठ का अनुसार अबको झण्डै दुई साताभित्र कोइला आइपुग्ने अपेक्षा गरिएको छ। उनले कोइलाको गुणस्तर परीक्षणपछि मात्रै उत्पादन पुनः सुरु गर्ने समय तय गरिने जानकारी दिए।
कोइला आपूर्तिमा देखिएको अनियमितताका कारण उद्योगको नियमित सञ्चालनमा पटक–पटक अवरोध सिर्जना हुँदै आएको छ, जसले बजारमा सिमेन्ट आपूर्ति समेत प्रभावित पार्ने सम्भावना बढाएको छ।


