वीरगञ्ज । पर्सा प्रहरीले गएराति अचानक शहरका विभिन्न क्यासिनोहरूमा छड्के अनुगमन गर्दै सुरक्षा निगरानी कडा बनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्वमा वडा प्रहरी कार्यालय विर्तासँग समन्वय गरी संयुक्त टोलीले एकै समयमा तीन प्रमुख क्यासिनोमा जाँच गरेको हो।
प्रहरी टोलीले किङ क्यासिनो, सुरज होटलभित्र सञ्चालनमा रहेको क्यासिनो र सरोबर पोटिका क्षेत्रमा रहेका क्यासिनोहरूमा विस्तृत अनुगमन गरेको जनाएको छ। जाँचका क्रममा क्यासिनोको प्रवेशद्वार, खेल कक्ष तथा सम्पूर्ण परिसरमा विशेष ध्यान दिइएको थियो।
प्रहरीका अनुसार अनुगमनको मुख्य उद्देश्य नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा लगाइएको कानुनी प्रतिबन्ध कार्यान्वयन भए/नभएको सुनिश्चित गर्नुका साथै सम्भावित गैरकानुनी गतिविधि नियन्त्रण गर्नु हो।
अनुगमनका क्रममा कुनै पनि नेपाली नागरिक क्यासिनोभित्र भेटिन नसकेको प्रहरीले जनाएको छ। यसले क्यासिनो सञ्चालकहरूले हालसम्म नियमको पालना गरिरहेको संकेत मिलेको प्रहरीको निष्कर्ष छ।
प्रहरीले यस्ता आकस्मिक अनुगमनलाई आगामी दिनमा पनि निरन्तर जारी राख्ने बताउँदै कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।


