वीरगञ्ज । कास्कीको चर्चित लिचीबारी घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ता ले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालत मा सुनुवाइ हुने भएको छ। उक्त मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेल को संयुक्त इजलासमा पेशी तोकिएको हो।
यसअघि विशेष अदालत ले गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सर्वोच्चले प्रारम्भिक रूपमा उक्त निवेदनमाथि कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको थियो।
पोखरास्थित लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट सहित न्यायाधीश डिल्ली रत्न श्रेष्ठ र विदुर कोइराला को इजलासले गुप्तालाई थुनामा पठाउने निर्णय गरेको थियो।
अभियोगअनुसार तत्कालीन मन्त्री गुप्ताले कास्कीको मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने आश्वासन दिँदै घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ।
यसै प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ विरुद्ध आपसी मिलेमतोमा २५ लाख रुपैयाँ घुस लिएको अभियोगसहित मुद्दा दायर गरेको थियो।
यद्यपि गुप्ताले अदालतमा दिएको बयानमा आफू निर्दोष रहेको र कुनै घुस नलिएको दाबी गर्दै आएका छन्। तर उपलब्ध प्रारम्भिक प्रमाणका आधारमा उनलाई तत्काल निर्दोष ठहर गर्न नसकिने भन्दै विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।


