काठमाडौँ । कास्कीको चर्चित लिची बगान घुस प्रकरणमा संलग्न रहेको आरोप लागेका पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि तय भएको छ। मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त मुद्दा पेश हुने भएको हो।
विशेष अदालतले गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी त्यसविरुद्ध सर्वोच्च पुगेका हुन्। सोही प्रकरणमा पूर्वमन्त्री श्रेष्ठ र तत्कालीन मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीलाई भने विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उक्त आदेशप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बदरको मागसहित सर्वोच्चमा निवेदन दिएको छ।
यसअघि सर्वोच्चले गुप्ताको निवेदनमाथि कैफियत प्रतिवेदन माग गर्ने आदेश जारी गरिसकेको थियो। पोखरास्थित लिची बगानसँग सम्बन्धित उक्त प्रकरणमा विशेष अदालतले प्रारम्भिक प्रमाणका आधारमा गुप्तालाई थुनामा पठाउने निर्णय गरेको हो।
अनुसन्धानका क्रममा गुप्ताले मालपोत कार्यालय प्रमुखको सरुवा रोक्ने र भूमि आयोगमा पद दिलाउने आश्वासन दिएर घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ। साथै, गुप्ता र श्रेष्ठबीचको मिलेमतोमा थप २५ लाख रुपैयाँ लिएको अभियोग पनि अख्तियारले लगाएको छ।
यद्यपि, गुप्ताले अदालतमा दिएको बयानमा आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै कुनै घुस नलिएको दाबी गरेका छन्। तर प्रारम्भिक प्रमाणहरूले उनलाई निर्दोष ठहर गर्न नसकिने भन्दै अदालतले थप अनुसन्धान आवश्यक ठानेको छ।


