वीरगंज | साउन २२
वीरगंज महानगरपालिका–१० मा अवस्थित आदर्शनगर रंगशालाको समुचित संरक्षण, सम्वर्द्धन तथा सञ्चालनमा नयाँ ऊर्जा भर्न गोपाल प्रसाद खेतानलाई संयोजकका रूपमा नियुक्त गरिएको छ।
महानगर प्रमुख राजेशमान सिंहको हस्ताक्षर रहेको औपचारिक पत्रमार्फत खेतानलाई यो जिम्मेवारी प्रदान गरिएको हो। पत्रमा उल्लेख गरिएअनुसार, खेतानले विगतमा रंगशालाको व्यवस्थापन तथा संरक्षणमा पुर्याएको सक्रिय योगदानको कदर गर्दै उनलाई संयोजनको बागडोर दिइएको जनाइएको छ।
महानगरले सार्वजनिक गरेको जानकारी अनुसार अब रंगशालाको प्रयोग विशुद्ध रुपमा खेलकुद प्रवर्द्धन र युवा प्रतिभा विकासमा केन्द्रित गरिने भएको छ। यही उद्देश्य साकार पार्न खेतानलाई संयोजक नियुक्त गरिएको हो।
संयोजकको रूपमा खेतानले रंगशालाको समग्र सञ्चालन, आवश्यक मर्मत तथा खेल गतिविधिको समन्वयमा आफ्नो दीर्घ अनुभव, योजना र कार्यकुशलता प्रस्तुत गर्ने विश्वास लिइएको छ।
प्रमुख सिंहले खेतानलाई सफल कार्यकालको शुभकामना दिँदै जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्न आग्रह गरेका छन्।
आदर्शनगर रंगशाला वीरगंजकै प्रतिष्ठित खेल पूर्वाधार मानिन्छ, जहाँ विविध खेलकुद तथा सामाजिक गतिविधिहरू आयोजना हुँदै आएका छन्। पछिल्ला समय रंगशालाको अवस्थाबारे चासो र आलोचना बढिरहेका बेला नगरपालिकाले अनुभवी व्यक्तिको संयोजनमा सुधारको खाका तयार गर्न थालेको हो।
खेतानको संयोजकमा नियुक्तिको खबर बाहिरिएपछि खेलकर्मी, स्थानीयवासी तथा खेलप्रेमीहरूले निर्णयको स्वागत गरेका छन्। उनीहरूले खेतानको नेतृत्वमा रंगशाला थप व्यवस्थित, सक्रिय र उद्देश्यमा आधारित रूपमा सञ्चालन हुने अपेक्षा व्यक्त गरेका छन्।


