बिरगञ्ज, पर्सा।
श्री आदर्श पशुपति क्लब, बिरगञ्जको आयोजनामा सातौँ इन्डो–नेपाल महिला तथा पुरुष T20 क्रिकेट प्रतियोगिता आजदेखि बिरगञ्जस्थित आदर्शनगर रंगशालामा सुरु भएको छ।
क्लबका अध्यक्ष सन्तोष गुप्ताका अनुसार प्रतियोगितामा मित्रराष्ट्र भारतबाट ४ तथा नेपालबाट २ गरी कुल ६ पुरुष टोलीको सहभागिता रहेको छ। त्यसैगरी महिला तर्फ नेपालबाट १ र भारतबाट १ टोली सहभागी रहेका छन्।
प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनीष सिंहले पर्सा जिल्लाका क्रिकेट खेलाडीहरूको विकास र प्रवर्द्धनका लागि संघले सक्दो सहयोग गर्ने तथा सधैं खेलाडीहरूको हक–हितका लागि अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।
उद्घाटन खेलमा आयोजक श्री आदर्श पशुपति क्लब र भारतको छत्तीसगढ टोलीबीच प्रतिस्पर्धा भएको थियो। छत्तीसगढले टस जितेर पहिले ब्याटिङ गर्दै १८.५ ओभरमा ७ विकेट गुमाएर १६३ रन बनायो र आयोजक टोलीलाई १६४ रनको लक्ष्य प्रस्तुत गर्यो।
जवाफमा श्री आदर्श पशुपति क्लब १७.४ ओभरमा सबै विकेट गुमाउँदै १२० रनमै समेटियो। यससँगै छत्तीसगढ टोलीले प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
उक्त खेलको ‘म्यान अफ द म्याच’ छत्तीसगढका गोपाल कुमार घोषित भएका छन्।
प्रतियोगिता ५ दिनसम्म सञ्चालन हुने आयोजक अध्यक्ष सन्तोष गुप्ताले जानकारी दिएका छन्।


