धरान उपमहानगरपालिकाका नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रको दिगो विकासको आधार श्रम संस्कार नै भएको बताएका छन्। श्रम संस्कृति पार्टी धरान नगर समितिले आयोजना गरेको सवारी चालक तथा मजदुर सम्मान–अभिनन्दन कार्यक्रममा उनले श्रमिकको कदर बिना विकास सम्भव नहुने स्पष्ट पारे।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले कुनै पनि काम ठूलो–सानो नहुने उल्लेख गरे। नेपाली समाजमा श्रमलाई हेय दृष्टिले हेर्ने प्रवृत्तिका कारण विकास अवरुद्ध भएको उनको भनाइ थियो। “श्रमिकको सम्मान नगरी समृद्धिको कल्पना गर्न सकिँदैन,” उनले भने, “देशलाई अघि बढाउने शक्ति श्रम संस्कृतिमा निहित छ।”
उनले श्रमिक भन्नाले केवल निर्माण क्षेत्रमा काम गर्नेहरू मात्र नभई शारीरिक श्रम गरेर जीवनयापन गर्ने सम्पूर्ण नागरिकलाई बुझ्नुपर्ने धारणा राखे। “हामी सबै कुनै न कुनै रूपमा श्रमिक हौँ,” उनले थपे, “श्रमको इज्जत भयो भने मात्र समाज र राष्ट्रले गति लिन्छ।”
अध्यक्ष साम्पाङले सबै श्रमिकको समान सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै आगामी निर्वाचनपछि श्रमिककै नेतृत्वमा सरकार गठन हुने दाबी पनि गरे। विकास र निकासको एकमात्र भरोसा श्रम संस्कार भएको उनको निष्कर्ष थियो।
सम्मान–अभिनन्दन कार्यक्रममा सवारी चालक, मजदुर, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा पार्टीका कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।


