स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अहिले पनि अस्थायी संरचनामै सञ्चालन हुँदै आएको छ। जनजीवन प्रभावित बनाएको जेनजी आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति पुगेका मन्त्रालयमध्ये यो पनि एक हो। बेला रामशाह पथस्थित मन्त्रालय भवनमा आगलागी भएपछि कार्यालय व्यवस्थापन गर्न प्रशासनलाई चुनौती थपिएको छ।हाल मन्त्रालयका अधिकांश कामकाज सिंहदरबार भित्र बनाइएको अस्थायी टहराबाट सञ्चालन भइरहेको छ। सीमित स्रोतसाधनबीच सेवा प्रवाहलाई निरन्तरता दिन कर्मचारीहरू जुटिरहेका छन्।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मन्त्रालयसँग आफ्नै स्थायी संरचना छैन। उनले बताए अनुसार वर्तमान स्वास्थ्यमन्त्री डा. सुधा गौतमले आइतबारदेखि अत्यावश्यक कामबाहेक मन्त्रालयमा नियमित उपस्थित नहुने भन्दै जिम्मेवारीबाट विदा लिइसकेकी छन्।आगामी आर्थिक वर्षको बजेट तयारीमा जुटिरहेको मन्त्रालय प्रशासन नयाँ स्वास्थ्यमन्त्रीको शीघ्र नियुक्तिको प्रतीक्षामा छ। प्रवक्ता बुढाथोकीले बजेट निर्माणकै चरणमा मन्त्री आए काम सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे।“अहिले टहराबाटै मन्त्रालय सञ्चालन गर्नुपरेको अवस्था छ,” उनले भने, “बजेट तयारीसँगै नयाँ मन्त्री छिट्टै आएमा आगामी कामहरू व्यवस्थित रूपमा अघि बढाउन सजिलो हुने थियो।”उता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय की सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले भने नयाँ मन्त्री स्वागतका लागि विशेष तयारी आवश्यक नरहेको बताएकी छन्। उनका अनुसार मन्त्रालयको संरचना तयार अवस्थामै रहेकाले नियमित प्रशासनिक कामहरू सञ्चालन भइरहेका छन् भने नीतिगत निर्णयका लागि मात्र मन्त्रीको आवश्यकता देखिएको छ।


