काठमाडौं, ३० चैत — नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय संसद् सचिवालयका अनुसार हालसम्म १० जनाभन्दा बढी सांसदले आफ्नो सम्पत्ति विवरण पेश गरिसकेका छन्।
सचिवालयअन्तर्गतको सांसद सुविधा शाखाले सूचना जारी गर्दै सबै प्रतिनिधिसभा सदस्यहरूलाई आगामी जेठ १० गतेभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको विवरण खुलाउनुपर्ने कानुनी व्यवस्था अनुसार यो प्रक्रिया अघि बढाइएको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ। सोही व्यवस्था कार्यान्वयन गर्दै सचिवालयले नवनिर्वाचित सांसदहरूलाई समयसीमाभित्र विवरण पेश गर्न आग्रह गरेको हो।
उल्लेखनीय छ कि गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूले चैत १२ गते शपथ ग्रहण गरेका थिए। त्यसपछि उनीहरूलाई कानुनअनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्व रहेको छ।


