वीरगन्ज, पुस २०
धनुषामा मस्जिद तोडफोड र पवित्र ग्रन्थ कुरान जलाइएको घटनाविरुद्ध आइतबार वीरगन्जमा मुस्लिम समुदायले व्यापक विरोध प्रदर्शन गरेका छन्। बिहानैदेखि सुरु भएको प्रदर्शनका क्रममा शहरका विभिन्न स्थान प्रभावित बनेका छन्।
धनुषाको धनुकमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम बस्तीमा रहेको मस्जिदमा शनिबार राति अज्ञात समूहले तोडफोड गर्नुका साथै कुरान जलाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आक्रोश फैलिएको थियो। उक्त घटनाको विरोधस्वरूप मुस्लिम समुदाय वीरगन्जमा सडक आन्दोलनमा उत्रिएको हो।
प्रदर्शनकारीहरूले घण्टाघर, मुर्ली, छपकैया इदगाह चोकलगायत क्षेत्रमा सडक अवरुद्ध गर्दै टायर बालेर नाराबाजी गरेका थिए। स्थिति तनावग्रस्त बन्दै गएपछि छपकैया इदगाह चोकमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो। अवस्था नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको जनाइएको छ। झडपका क्रममा एक जना प्रहरी सामान्य घाइते भएका छन्।
प्रदर्शनमा सहभागीहरूले धार्मिक सहिष्णुता खल्बल्याउने नियतले मस्जिदमा आक्रमण गर्ने र कुरान जलाउने दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
छपकैया मदरशाका मौलाना असगर मदमीले धार्मिक द्वन्द्व भड्काउने उद्देश्यले गरिएको उक्त घटनाको विरोधमा आफूहरू शान्तिपूर्ण प्रदर्शनमा उत्रिएको बताए। उनले दोषी पहिचान गरी तत्काल कानुनी कारबाही नगरे आन्दोलन अझ सशक्त हुने चेतावनीसमेत दिएका छन्।


