काठमाडौँ । देशको बैंकिङ प्रणालीमा लगानीयोग्य रकम लगातार बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले पुनः बजारबाट ठूलो रकम फिर्ता लैजाने तयारी गरेको छ। आर्थिक गतिविधि सुस्त बनेको र कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसकेको अवस्थालाई मध्यनजर गर्दै केन्द्रीय बैंकले आज १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको हो।
नयाँ सरकार गठन भएको केही समय बितिसक्दा पनि बजारमा अपेक्षित सुधार नआएको देखिन्छ। पछिल्ला राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनको प्रभावका कारण आर्थिक क्षेत्र सुस्त बनेको छ। यसले गर्दा बैंकहरूमा रकम थुप्रिने तर कर्जा माग न्यून रहने अवस्था सिर्जना भएको छ।
हाल बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम ७८ खर्ब रुपैयाँ नाघिसकेको छ। तर सोही अनुपातमा कर्जा प्रवाह हुन नसक्दा बैंकहरूले ब्याजदर घटाउने र मुद्दती निक्षेपलाई निरुत्साहित गर्ने रणनीति अपनाइरहेका छन्। यस अवस्थालाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।
आजको बोलकबोल प्रक्रियामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्। अनलाइन प्रणालीमार्फत सञ्चालन हुने यस प्रक्रियामा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखेर रकम वितरण गरिने व्यवस्था छ।
यसअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज आगामी २०८३ वैशाख २ गते भुक्तानी गरिनेछ। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम तोकिएको सीमासम्म प्रस्ताव पेश गर्न सक्नेछन्। खुला बजार सञ्चालन सम्बन्धी नियमअनुसार दीर्घकालीन तरलता बढी देखिएमा यस्ता उपकरण ६ महिनासम्म प्रयोग गर्न सकिन्छ।
राष्ट्र बैंकको यस कदमले बजारमा ब्याजदर स्थिर राख्न सहयोग पुग्ने र अनावश्यक क्षेत्रमा लगानी बढ्न नदिने अपेक्षा गरिएको छ।


