काठमाडौँ । सहरी क्षेत्रको सुरक्षा, सडक अनुशासन र व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच सहकार्य अझ मजबुत बनाउने सहमति भएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की बीच भएको भेटमा वर्तमान चुनौती र सुधारका आवश्यक पक्षबारे विस्तृत छलफल गरिएको हो।
भेटवार्ताका क्रममा कार्यवाहक प्रमुख डङ्गोलले ट्राफिक व्यवस्थापन सुदृढीकरण, सार्वजनिक जग्गाको संरक्षण, अव्यवस्थित बसोबास नियन्त्रण तथा सहरलाई व्यवस्थित बनाउने अभियानमा नेपाल प्रहरीसँग नजिकको सहकार्य आवश्यक रहेको बताइन्। उनले महानगर प्रहरी बललाई अझ सक्षम बनाउन नेपाल प्रहरीको साथ अपरिहार्य रहेको उल्लेख गर्दै यसबाट नागरिकले प्रत्यक्ष रूपमा सकारात्मक परिवर्तन महसुस गर्ने विश्वास व्यक्त गरिन्।
त्यसैगरी प्रहरी महानिरीक्षक कार्कीले महानगरपालिकाका प्राथमिकतामा आधारित कामहरूमा आवश्यक सहयोग गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए। उपत्यका प्रहरी कार्यालयमार्फत समन्वय अझ प्रभावकारी बनाइने उल्लेख गर्दै उनले यसका लागि विशेष जिम्मेवारीसहित फोकल पर्सन तोकिएको जानकारी दिए। साथै, जनचेतनामूलक कार्यक्रम, प्रविधिको प्रयोग र नागरिक सहभागिता बढाएर कम जनशक्तिबाट बढी उपलब्धि हासिल गर्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।
छलफलमा लागूऔषध दुर्व्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान तथा मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन सुधार, ट्राफिक संकेतको प्रभावकारी प्रयोग, रात्रि तथा बिहान बस सेवाको सुरक्षा तथा ‘सडक मानवमुक्त काठमाडौँ’ अभियानमा सहकार्यका विषयहरू उठाइएको थियो।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सहित महानगरका अन्य अधिकारीहरूको पनि सहभागिता रहेको थियो।


