राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित अन्य प्रतिवादीविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालत मा सोमबार भएको सुनुवाइ निष्कर्षमा पुग्न नसकी हेर्दाहेर्दैमा राखिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा बहस जारी रहे पनि समय अभावका कारण सुनुवाइ टुंगोमा पुग्न नसकेको हो।
यसअघि अदालतले महान्यायाधिवक्ता कार्यालय लाई महान्यायाधिवक्ता सबिता भण्डारी ले माघ २ गते गरेको टिप्पणी आदेश तथा सोसँग सम्बन्धित मूल फाइल पेश गर्न निर्देशन दिएको थियो।
रिट निवेदकहरूले पुस ३० गतेको निर्णयमार्फत लामिछानेलाई तथा माघ २ गतेको निर्णयमार्फत अन्य प्रतिवादीलाई सफाइ दिने प्रक्रिया अघि बढाइएको भन्दै उक्त निर्णयप्रति आपत्ति जनाउँदै छुट्टाछुट्टै तीन रिट दायर गरेका थिए।
यसअघि चार दिनसम्म लगातार भएको सुनुवाइपछि चैत ५ गते न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासले लामिछानेबाहेक अन्य प्रतिवादीको हकमा भएको कसुर संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन आदेश दिएको थियो।
उक्त मुद्दामा बहस अझै जारी रहेकाले अर्को पेसीमा सुनुवाइ अघि बढाइने अदालतले जनाएको छ।


