काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमाथि पटक–पटक उठिरहेका गुनासा र मधेस प्रदेशका अस्पतालहरूको सेवा अवस्थाबारे प्रत्यक्ष अध्ययन गर्ने निर्णय गरेको छ। मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाको पहलमा विशेष अनुगमन टोली गठन गरी स्थलगत निरीक्षणका लागि खटाइएको हो।
चैत २७ गतेको मन्त्रालयस्तरीय निर्णयअनुसार खटाइएको उक्त टोलीमा उपचारात्मक सेवा महाशाखाका डा. फणिन्द्रप्रसाद बराल र गुणस्तर मापन तथा नियमन महाशाखाका मेडिकल ल्याब टेक्नोलोजिस्ट राजकुमार पाण्डे सहभागी रहेका छन्। टोलीले विशेषगरी नेसनल मेडिकल कलेजसँग सम्बन्धित उजुरीहरूको वास्तविकता बुझ्नेछ भने वीरगञ्जकै गजेन्द्रनारायण सिंह अस्पताल र नारायणी अस्पतालको सेवा प्रवाह पनि मूल्याङ्कन गर्नेछ।
यससँगै मधेस प्रदेश स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्दै जनकपुर, महोत्तरी लगायतका क्षेत्रमा रहेका प्रादेशिक अस्पतालहरूको अवस्था समेत अध्ययन गरिने जनाइएको छ। हालै लागू गरिएको ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ अनुरूप अस्पतालहरूले तोकिएका मापदण्ड पालना गरे/नगरेको विषयमा टोलीले विस्तृत जाँच गर्नेछ।
मन्त्रालयले अनुगमन टोलीलाई तोकिएको चेकलिष्टका आधारमा काम सम्पन्न गरी एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। यस अनुगमनबाट स्वास्थ्य सेवाको गुणस्तर सुधारमा ठोस आधार तयार हुने अपेक्षा गरिएको छ।


