पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिकामा सडक सुरक्षालाई केन्द्रमा राख्दै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। अभियानमार्फत सवारी चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमको महत्व र सुरक्षित यात्राका उपायबारे जानकारी गराइएको हो।
इन्स्पेक्टर समुन्नत अधिकारीको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा “नो हेल्मेट, नो राइड” अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको जनाइएको छ। विशेषगरी मोटरसाइकल चालकहरूलाई हेल्मेट अनिवार्य प्रयोग गर्न जोड दिइएको थियो।
कार्यक्रमका क्रममा “हेल्मेट प्रयोग गरौं, जीवन जोगाऔं” र “सुरक्षित टाउको, सुरक्षित भविष्य” जस्ता सन्देशमार्फत जनचेतना फैलाइएको थियो। छोटो दूरी होस् वा लामो यात्रा, हेल्मेट बिना सवारी नचलाउन आग्रह गरिएको छ।
साथै, सहभागीहरूलाई ट्राफिक नियमको पालना गर्न, असावधानी नगर्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन सुझाव दिइएको थियो। स्थानीय बासिन्दाले यस्ता अभियानले सडक दुर्घटना घटाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।


