काठमाडौँ — पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनाले ६ जनाको ज्यान लिएको छ। कञ्चनपुर, रूपन्देही, चितवन र दाङमा भएका घटनाले फेरि पनि सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ कुगडामा भएको दुर्घटना सबैभन्दा भयावह रह्यो। अनियन्त्रित बनेको जीप पल्टिँदा तीन जनाको मृत्यु भएको हो। से १ ज २९० नम्बरको उक्त जीप दुर्घटनामा चालक २४ वर्षीय अर्जुन साउदसहित ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती देवी बोहराले ज्यान गुमाएका छन्। पार्की र बोहराको घटनास्थलमै मृत्यु भएको थियो भने चालक साउदको धनगढीस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सो दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको उपचार जारी रहेको छ।
रूपन्देहीको सिद्धार्थनगर–१० शंकरपुरमा मोटरसाइकल र रोकिराखिएको ट्र्याक्टर ट्रली ठोक्किँदा एक जनाको मृत्यु भएको छ। लु ६ प ३०५८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी ५२ वर्षीय नारायण बहादुर यादवको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
चितवनको माडी नगरपालिका–८ खरकट्टामा बसको ठक्करबाट एक युवतीको ज्यान गएको छ। बा प्र ०६–००१ ख ०२०४ नम्बरको बसले ठक्कर दिँदा १८ वर्षीया प्रिती परियार गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।
त्यसैगरी दाङको गढवा गाउँपालिका–८ चिसापानीमा मोटरसाइकल दुर्घटनामा १९ वर्षीय मनोज चौधरीको ज्यान गएको छ। अनियन्त्रित मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो भने चालक घाइते अवस्थामा उपचाररत छन्।
प्रहरीले सबै घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। लगातार बढ्दो सवारी दुर्घटनाले सडक सुरक्षामा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ।


