काठमाडौं — शेरबहादुर देउवा ले आफू र आफ्नो परिवारमाथि लगाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपलाई असत्य र भ्रमपूर्ण प्रचार भन्दै खण्डन गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले सञ्चारमाध्यममा आएका खबरप्रति आपत्ति जनाएका हुन्।
देउवाले उक्त विषयमा औपचारिक जानकारी सञ्चार माध्यमबाट मात्र पाएको उल्लेख गर्दै आफूविरुद्ध फैलाइएका सामग्रीहरू वास्तविकताभन्दा टाढा रहेको दाबी गरेका छन्। उनले यस्ता भ्रामक सूचनाबाट प्रभावित नहुन सबैमा अनुरोध गरेका छन्।
हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवाले उपचार प्रक्रिया जारी रहेको पनि जानकारी दिएका छन्। समयसँगै सत्य तथ्य सार्वजनिक हुने विश्वास व्यक्त गर्दै उनले अनावश्यक अतिरञ्जनाले समाजमा भ्रम सिर्जना गरेको बताएका छन्।
उता गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भइसकेको बताइएको छ। यसअघि भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा आगलागी हुँदा उनीहरू घाइते भएका थिए। घटनापछि घरबाट नगद फेला परेको दाबी गरिएका भिडियोहरू सार्वजनिक भएका थिए।
देउवाले आफ्नो धारणा सार्वजनिक गर्दै सार्वजनिक पदमा रहँदा कानुनअनुसार सम्पत्तिको विवरण सम्बन्धित निकायमा पेश गरेको स्पष्ट पारेका छन्। लोकतन्त्र, विधिको शासन र पारदर्शिताका पक्षमा जीवनभर संघर्ष गरेको उल्लेख गर्दै उनले आफ्नो राजनीतिक यात्रा खुला र पारदर्शी रहेको बताएका छन्।
साथै, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आफूले विभिन्न कानुनी व्यवस्थाहरू कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै आफ्ना विगतका पहलहरू पनि स्मरण गराएका छन्।


