काठमाडौँ, २७ चैत।
सरकारले लागू गरेको सातामा दुई दिन बिदाको व्यवस्थाबीच अत्यावश्यक स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष कदम चालेको छ। मन्त्रालयले आइतबारको सार्वजनिक बिदामा समेत देशभरका अस्पतालहरूमा बहिरङ्ग (ओपिडी) सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।
शुक्रबार जारी गरिएको विज्ञप्तिमा नागरिकको स्वास्थ्य उपचार पाउने मौलिक अधिकारलाई सुनिश्चित गर्न बिदाका दिन पनि सेवा निरन्तर राख्नुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयको यो निर्णयले बिरामी तथा सेवाग्राहीलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाअनुसार अस्पतालहरूले आफ्नो जनशक्ति र कार्यबोझको मूल्याङ्कन गर्दै आइतबारको सेवा व्यवस्थापन गर्नुपर्नेछ। बिदाका दिन काममा खटिने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई मनोबल कायम राख्न ‘सट्टा बिदा’को व्यवस्था लागू गरिएको छ। यसअनुसार आइतबार सेवा दिने कर्मचारीले साताको अन्य दिन बिदा पाउनेछन् वा आवश्यक परेमा नियमानुसार सट्टा बिदा उपलब्ध गराइनेछ।
यो व्यवस्था संघीय अस्पतालसँगै प्रादेशिक अस्पतालहरूमा समेत लागू गराउन मन्त्रालयले सम्बन्धित निकायहरूसँग समन्वय गरिसकेको जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले यसलाई बिदाको कारणले प्रभावित हुन दिनु उपयुक्त नहुने बताइएको छ। दुई दिने बिदाले सेवाग्राहीमा चाप बढ्ने र उपचारमा ढिलाइ हुने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उनले स्पष्ट पारे।
विशेषगरी टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीलाई अस्पताल बन्द हुँदा पर्ने अतिरिक्त खर्च र सास्ती कम गर्ने लक्ष्यसहित यो नीति ल्याइएको हो। सातै दिन सेवा उपलब्ध हुने व्यवस्थाप्रति सर्वसाधारणबाट सकारात्मक प्रतिक्रिया आएको छ।


