सिरहा । जेनजी आन्दोलनका बेला गत भदौ २४ गते देशका विभिन्न कारागार र बाल सुधार गृहबाट भागेका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जलेश्वर, नख्खु, जगन्नाथ देवल, सप्तरी, सिन्धुली, केन्द्रीय कारागार तथा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका व्यक्तिहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार र सुधार गृहमा पुनः जिम्मा लगाइसकिएको छ भने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया अघि बढिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए।
यसैबीच, सिरहाको धनगढीमाई नगरपालिका–११ डाबरटोलस्थित चितवा खोला नजिक सोमबार दिउँसो बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेको छ। उक्त हतियारको विषयमा इलाका प्रहरी कार्यालय लहानले थप अनुसन्धान गरिरहेको जनाएको छ।


