वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा अध्यक्षमाथि लगाइएको कुटपिटसम्बन्धी आरोपले चर्चा पाएको छ। गाउँपालिका अध्यक्ष बशिष्ट कुमारले आफूमाथि लगाइएको “कोठामा थुनेर कुटपिट गरिएको” भन्ने आरोपलाई पूर्ण रूपमा असत्य र मनगढन्ते भएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै उनले गाउँपालिकाले सधैं कानुनी प्रक्रिया र विधिसम्मत तरिकाले काम गर्दै आएको स्पष्ट पारे। उनले भ्रष्टाचारविरुद्ध उठाइने आवाजलाई सकारात्मक रूपमा लिने प्रतिबद्धता जनाउँदै त्यसप्रति सम्मान रहेको पनि उल्लेख गरे।
तर, आधारहीन आरोप लगाएर संस्थाको प्रतिष्ठामा आघात पुर्याउने प्रयास अस्वीकार्य रहेको उनको भनाइ छ। घटनाबारे यथार्थ सार्वजनिक गर्न आफूहरू खुला रहेको बताउँदै उनले सम्बन्धित निकायलाई निष्पक्ष र पारदर्शी छानबिन गर्न आग्रह गरेका छन्।
अध्यक्ष कुमारले आरोप पुष्टि गर्ने प्रमाण भए सार्वजनिक गर्न चुनौती दिँदै झुटा प्रचारले समाजमा भ्रम र अनावश्यक तनाव सिर्जना गर्ने चेतावनी दिए।
उनका अनुसार “ZenG” नामबाट चिनिने व्यक्ति कार्यालयको कोठामा प्रवेश गरेको समय १२:१२ बजे र बाहिरिएको समय १२:१४ बजे रहेको भिडियो फुटेजसमेत सार्वजनिक गरिएको छ। उक्त दृश्यमा कुनै प्रकारको कुटपिट नभएको र व्यक्ति सामान्य अवस्थामै बाहिरिएको देखिएको उनको दाबी छ।
गाउँपालिकाले सुशासन, पारदर्शिता र उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउँदै घटनाको वास्तविकता छिट्टै सार्वजनिक हुनुपर्नेमा जोड दिएको छ।


