वीरगंज, ५ असार ।
पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ५० करोड ५० लाख ४१ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शुक्रवार आयोजित नगरसभामा नगरप्रमुखद्वारा प्रस्तुत गरिएको उक्त बजेट नीति तथा कार्यक्रम र आर्थिक ऐनसहित सर्वसम्मत रूपमा पारित भएको हो।
सार्वजनिक बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ। संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान, प्रदेश सरकारका विभिन्न अनुदान, आन्तरिक आम्दानी तथा गत आर्थिक वर्षको मौज्दात रकमलाई समेटेर यो बजेट विनियोजन गरिएको हो।
नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षका लागि प्रशासनिक तथा सञ्चालन (चालु) खर्चतर्फ करिब ११ करोड रुपियाँभन्दा बढी रकम विनियोजन गरिएको छ। यसैगरी, विकास तथा पूँजीगत खर्चतर्फ १७ करोड ४५ लाख ९० हजार रुपियाँभन्दा बढी रकम छुट्याइएको छ।
बजेटमा स्थानीय सडक, खानेपानी, शिक्षा, स्वास्थ्य चौकीको स्तरोन्नति, कृषि उत्पादन वृद्धि, रोजगार प्रवर्द्धन तथा वातावरण संरक्षणलाई विशेष महत्त्व दिइएको छ। नगरस्तरीय योजनाका साथै वडा तहका योजनाहरूलाई समेत समेटेर बजेट बाँडफाँड गरिएको नगरपालिकाले उल्लेख गरेको छ।
यसैबीच, नगरपालिकाले बजेटसँगै ‘आर्थिक ऐन २०८३’ समेत प्रस्तुत गरेको छ। उक्त ऐन बमोजिम घरजग्गा कर, व्यवसाय कर, सवारी साधन कर, विज्ञापन कर, बहाल कर, सेवा शुल्क तथा अन्य स्थानीय राजस्वका स्रोतहरूबाट आम्दानी सङ्कलन गर्ने व्यवस्था गरिएको छ। ऐनमा कर तथा शुल्क सङ्कलन, छुट, जरिवाना र प्रशासनिक पुनरावलोकन सम्बन्धी कानुनी व्यवस्थाहरू समेत स्पष्ट रूपमा उल्लेख गरिएको छ।
यो बजेटले स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै दिगो विकास, आर्थिक समृद्धि र जनताको जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा नगरपालिकाले लिएको छ। नगरसभाबाट पारित यो बजेट तथा आर्थिक ऐन आगामी साउन १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आउने जनाइएको छ।


