प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु न्यायबारे विश्व नेताहरूको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभाव र नेपालले यस क्षेत्रमा खेलेको भूमिकाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित भेटमा प्रधानमन्त्री ओलीसँग नेपाल रिपब्लिक मिडिया र अमेरिकी न्युयोर्क टाइम्सबीचको सहकार्यबारे जानकारी गराइएको थियो। यो सहकार्यले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त समाचार सामग्रीहरूलाई एउटै डिजिटल पे-वालमार्फत नेपाली पाठकहरूलाई उपलब्ध गराउनेछ। भेटमा न्युयोर्क टाइम्सका अन्तर्राष्ट्रिय अध्यक्ष स्टेफन डन्बर जोन्सन र नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवालीलगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा आफ्नो सम्बोधनको स्मरण गराउँदै भने कि नेपालले कार्बन उत्सर्जनमा न्यूनतम योगदान दिए तापनि जलवायु परिवर्तनका नकरात्मक असरहरू भोगिरहेको छ। उनले जलवायु न्यायका लागि क्षतिपूर्तिको माग गर्दै नेपालका हिमालय पर्वतहरूको सुरक्षा नगरेको खण्डमा समुद्रको तापमान वृद्धिको खतरा रहेकोतर्फ विश्वको ध्यानाकर्षण गराए।
प्रधानमन्त्रीले भने, “हामी केवल आवाज उठाइरहेका छैनौं, व्यवहारिक रूपमा पनि काम गरिरहेका छौं। यो काम नेपालकै लागि मात्र नभई सम्पूर्ण विश्वको वातावरणीय सुरक्षाका लागि हो।” उनले हाइड्रो पावर र हाइड्रो इनर्जीमा नेपालले गरिरहेको प्रगतिबारे पनि चर्चा गरे र सञ्चार जगत्लाई यसबारे जनतालाई सुसूचित गर्न आग्रह गरे।
भेटमा अन्तर्राष्ट्रिय संस्था फोसिल फ्युलका निर्देशक हरजीत सिंहले प्रधानमन्त्री ओलीको जलवायु न्यायसम्बन्धी स्पष्ट बुझाइ रहेको उल्लेख गर्दै उनलाई दक्षिण एसियाका नेताका रूपमा सम्मान प्रकट गरे।
सञ्चार क्षेत्रको महत्व र यसको भूमिकाबारे प्रधानमन्त्री ओलीले भने, नेपालको लोकतान्त्रिक संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गरेको र राज्यका सबै तहमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको बताए।
उक्त भेटमा नेपाल रिपब्लिक मिडियाका सञ्चालक शोभा ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली, र न्युयोर्क टाइम्सका प्रतिनिधि हेलेना फ्वुवा पनि उपस्थित थिए।


