काठमाडौं । नेपाल–चीन सीमा नाका कोरला हुँदै नेपाल भित्र्याइएका बीवाईडी ब्राण्डका ७७४ वटा विद्युतीय सवारीसाधनलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार विद्युतीय सवारीसाधनमा लाग्ने कर संरचनासम्बन्धी संवेदनशील सूचना बजेट सार्वजनिक हुनुअघि नै बाहिरिएको हुनसक्ने आशंकाका आधारमा विस्तृत छानबिन थालिएको हो। सोही क्रममा बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक क्षेत्रमा विशेष जाँच अभियान सञ्चालन गरी ती सवारीसाधन नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
प्रहरीका अनुसार नियन्त्रणमा परेका सबै सवारीसाधन बीवाईडी ब्राण्डका हुन्। तीमध्ये अधिकांश गाडी नम्बर प्लेटबिना विभिन्न जिल्लातर्फ लैजाँदै गरिएको अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुसन्धानले करसम्बन्धी व्यवस्थामा परिवर्तन आउने जानकारी पहिले नै प्राप्त गरी सवारीसाधन आयात गरिएको हुनसक्ने संकेत देखिएको प्रहरीको भनाइ छ।
डीआईजी भट्टले भन्सार प्रक्रिया, कर निर्धारण र बजेटअघि गरिएको आयात गतिविधिबारे सूक्ष्म अनुसन्धान भइरहेको जनाउँदै कुनै प्रकारको अनियमितता वा कानुनविपरीत कार्य भएको पुष्टि भए सम्बन्धित व्यक्ति तथा निकायमाथि आवश्यक कानुनी कारबाही गरिने बताए।
यस घटनाबारे प्रतिक्रिया लिन बीवाईडी ब्राण्डको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठसँग सम्पर्कको प्रयास गरिए पनि उनको मोबाइल फोन बन्द रहेको बताइएको छ।
स्रोतका अनुसार भन्सार कर्मचारी, भन्सार एजेन्ट तथा आयातकर्ताबीच सम्भावित समन्वयमार्फत आगामी आर्थिक वर्षको बजेटअघि नै ठूलो परिमाणमा सवारीसाधन जाँचपास गरिएको हुनसक्ने आशंकापछि सरकारी निकायहरू सक्रिय बनेका हुन्। सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधनमा लाग्ने कर व्यवस्थामा परिवर्तन गरेपछि त्यसबाट लाभ लिन बजेटअघि नै ठूलो संख्यामा ईभी नेपाल भित्र्याइएको हुनसक्ने अनुमान गरिएको छ।


