पर्सा, जेठ २ — पर्सागढी नगरपालिका वडा नं. ४ सबैयास्थित सबेया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक आज अध्यक्ष लखनलाल साह कानुको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले वन संरक्षण, व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
बैठकमा साझेदारी वन क्षेत्रभित्र अतिक्रमण गरी प्रयोग गरिँदै आएको जग्गा खाली गराउने निर्णय गरिएको छ। वन संरक्षण गर्दै प्राकृतिक स्रोतको दीर्घकालीन संरक्षण तथा प्रभावकारी व्यवस्थापनका विषयमा समेत विशेष छलफल भएको थियो।
कार्यक्रममा सबैया सब–डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकाय, उपाध्यक्ष असलम आलम लगायत सदस्यहरू श्रवण प्रसाद साह, भइया राम पटेल, नेसार अहमद, राजिव सरार्फ, सुरज कुर्मी, रिता देवी, राधिका लामा तथा शशिभूषण तिवारीको सहभागिता रहेको थियो।
बैठकमा सहभागीहरूले वन अतिक्रमण रोक्न, अवैध कटानी नियन्त्रण गर्न तथा वन उपभोक्ताको अधिकार संरक्षणका लागि सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिएका थिए।
साझेदारी वन उपभोक्ता समूहले वन संरक्षण, वृक्षारोपण, जैविक विविधता संरक्षण, वन पैदावार व्यवस्थापन तथा स्थानीय समुदायको सहभागितामार्फत वातावरणीय सन्तुलन कायम राख्ने कार्य गर्दै आएको जनाएको छ। साथै वन क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्दै उपभोक्ताको हितमा कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पनि समूहले निर्वाह गर्दै आएको उल्लेख गरिएको छ।
बैठकमा वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाउने, जनसहभागिता बढाउने तथा संरक्षण अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।


