पर्सा–बाराका कार्यालयमा लाइसेन्स वितरणमाथि गम्भीर प्रश्न
पर्सा र बारास्थित यातायात व्यवस्था कार्यालयहरूमा फर्जी लाइसेन्स नियन्त्रणका नाममा केही समयअघि कडाइ गरिए पनि पुनः पुरानै ‘सेटिङ सिस्टम’ सक्रिय भएको आरोप उठ्न थालेको छ। सेवाग्राही तथा स्थानीय स्रोतहरूले कार्यालयभित्र बिचौलियाको चलखेल फेरि बढेको दाबी गरेका छन्।
स्थानीयका अनुसार लिखित तथा ट्रायल परीक्षा अहिले औपचारिकतामा मात्रै सीमित बन्न थालेको छ। सीमित व्यक्तिलाई लक्षित गरी पटक–पटक परीक्षा सञ्चालन गर्ने र मिलेमतोका आधारमा पास गराउने अभ्यास भइरहेको आरोप छ। एक दिन लिखित र अर्को दिन ट्रायल परीक्षा गराएर बिचौलियामार्फत प्रक्रिया मिलाइने गरिएको सेवाग्राहीहरूको भनाइ छ।
वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा समेत केही कर्मचारी र बिचौलियाबीच मिलेमतो भएको आरोप सार्वजनिक भएको छ। ट्रायल शाखासँग निकट व्यक्तिमार्फत मोटरसाइकलको लाइसेन्स बनाइदिने प्रक्रिया अघि बढाइएको दाबी स्थानीय स्रोतले गरेका छन्।
उता बारा जिल्लाको कलैया कार्यालयमा पर्याप्त सिसिटिभी निगरानी नहुँदा ट्र्याक्टर चालक अनुमतिपत्र वितरण प्रक्रियामा अनियमितता बढेको आरोप लागेको छ। कार्यालय प्रमुखमाथि समेत बिचौलियामार्फत फर्म भर्ने, लिखित परीक्षा पास गराउने तथा ट्रायलमा फेल भएका व्यक्तिलाई समेत उत्तीर्ण देखाउने काममा संलग्न रहेको आरोप स्थानीयले लगाएका छन्।
स्थानीयवासीहरूले दुवै कार्यालयको ट्रायल प्रणालीलाई पूर्ण डिजिटल निगरानीमा राख्दै लाइभ स्ट्रिमिङको व्यवस्था गर्न माग गरेका छन्। यसो भए लाइसेन्स वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र विश्वसनीय बन्ने उनीहरूको विश्वास छ।
#पर्सा #बारा #वीरगञ्ज #यातायात #लाइसेन्स #नेपालNews


