पर्सा, जेठ २८ —
पर्साको सखुवा प्रसौनी गाउँपालिका ले सामुदायिक विद्यालयहरूमा भइरहेको शिक्षक दरबन्दी मिलान सम्बन्धी सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। शिक्षक सरुवा तथा दरबन्दी मिलान प्रक्रियामा अनियमितता, गैरजिम्मेवारी र गैरकानुनी गतिविधि भएको भन्दै विभिन्न गुनासा परेपछि गाउँपालिकाले प्रक्रिया रोकेको हो।गाउँ कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार गाउँपालिका अन्तर्गतका विद्यालयहरूको अनुगमन तथा दरबन्दी मिलान कार्यदल–२०८१ को प्रतिवेदन र गाउँ शिक्षा समितिको निर्णयका आधारमा प्रक्रिया अघि बढाइएको थियो। तर शिक्षक तथा अभिभावक पक्षबाट प्रक्रियामाथि प्रश्न उठाउँदै निवेदन परेपछि न्यायिक समितिले विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ।गाउँपालिकाले गुनासोको अन्तिम टुंगो नलागेसम्म शिक्षक दरबन्दी मिलान, सरुवा तथा हाजिरीसम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय गरेको जनाएको छ। साथै सम्बन्धित विद्यालय र निकायलाई हाल कुनै पनि शिक्षकलाई नयाँ स्थानमा हाजिर नगराउन निर्देशन दिइएको छ।सूचनामा मुख्य रूपमा चार विषयमा छानबिन हुने उल्लेख गरिएको छ। जसअनुसार दरबन्दी मिलान कार्यदलको प्रतिवेदन त्रुटिपूर्ण भए/नभएको, गाउँ शिक्षा समितिको निर्णय कानुनी आधारमा भएको वा नभएको, समितिका पदाधिकारी नियुक्ति वैधानिक रहेको वा नरहेको तथा शिक्षक सरुवा प्रक्रिया कानुनी दायराभित्र भए/नभएको विषयमा अध्ययन गरिनेछ।गाउँपालिकाका अनुसार छानबिन प्रक्रिया सम्पन्न भएपछि मात्रै आगामी निर्णय सार्वजनिक गरिनेछ। शिक्षा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले यो निर्णयलाई स्थानीय स्तरमा अर्थपूर्ण रूपमा हेरिएको छ।केही समय देखि यस पालिकामा मनोमानी रुपमा सरुवाको त्रास देखाई यस अघि झै रकम उठाउने र पुर्वाग्रह साध्ने प्रयासलाई उपाध्यक्षले रोकेर छानबीन गर्ने भए पछि शिक्षक- अभिभावक र बिद्यार्थीमा न्याय पाइने आशा जागेको छ। सरकार र सम्बन्धित निकायको पनि यस बिषयमा ध्यान जानु आवश्यक छ l


