सिमरा, २५ चैत्र। बाराको ईलाका प्रहरी कार्यालय सिमरा प्रहरीले झण्डै एक किलो अवैध लागुऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार अपराह्न उनीहरूलाई पक्राउ गरेको हो।
कैलाश गाउँपालिका वडा नं. २, मकवानपुरका ५५ वर्षीय खड्ग बहादुर मोक्तान र साविक डाँडाखर्क गा.वि.स. वडा नं. ८, मकवानपुर बस्ने ४९ वर्षीय लाल बहादुर स्याङतान पक्राउ परेका छन् ।
जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित कल्पवृक्ष होटल अगाडि हेटौँडा–वीरगंज सडक खण्डमा हेटौँडाबाट सिमरातर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेर प्रहरीले चेकजाँच गरिएको थियो।
लागुऔषध नियन्त्रण ब्युरो शाखा वीरगंजका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) गोपाल खड्का र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक (प्र.नि.) दिवाकर गणेशको कमाण्डमा खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको सिमरा प्रहरीले बताएका छन्।
बरामद लागुऔषध लाल बहादुर स्याङतानले लगाएको ट्रयाकको अगाडिको बाँया खल्ती र उनले बोकेको निलो रङको झोला भित्र लुकाइछिपाई राखिएको अवस्थामा अफिम जस्तो देखिने पदार्थ फेला परेको थियो। प्रहरीका अनुसार बरामद गरिएको पदार्थको तौल प्लास्टिक सहित ९४६ ग्राम र प्लास्टिक बिना ९४२ ग्राम रहेको र उनीहरु संग केही नगर र मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीले यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता भए/नभएको बारे पनि अनुसन्धान सुरु थालिएको प्रहरीको भनाई छ ।


