नेपाली काँग्रेस पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल रुङटाले बहुरुपिया उम्मेदवारहरूको झुटा आश्वासन र प्रलोभनमा नपरी देश विकासको स्पष्ट भिजन र दीर्घकालीन योजना बोकेको दल तथा उम्मेदवारलाई मतदान गर्न मतदातासमक्ष अपिल गर्नुभएको छ।
नेपाली काँग्रेस वीरगन्ज महानगरपालिका वडा नं. १४ का बुथ सभापति बिसेश्वर पटेलको अध्यक्षतामा पर्साको पिपरामा आज आयोजित भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार रुङटाले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
उहाँले विगतका निर्वाचनमा राष्ट्र विकासका लागि स्पष्ट संकल्प र दीर्घकालीन योजना नभएका दल तथा तिनका बहुरुपिया उम्मेदवारलाई जनताले जिताए पनि त्यसको सकारात्मक प्रतिफल जनताले पाउन नसकेको उल्लेख गर्नुभयो। त्यसैले अब विगतका गल्तीबाट पाठ सिक्दै देश विकासको स्पष्ट खाका र दृढ प्रतिबद्धता बोकेको नेपाली काँग्रेस र त्यसका कर्मठ उम्मेदवारलाई मतदान गर्न आवश्यक रहेको उहाँको भनाइ थियो।
उम्मेदवार रुङटाले आम मतदातालाई झुक्याउँदै कहिले माओवादी त कहिले मधेसवादी दलहरूले मत प्राप्त गरे पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको बताउनुभयो। अहिले युवाको नाममा विभिन्न षड्यन्त्र, प्रपञ्च र भ्रम फैलाएर मतदातालाई प्रभावित पार्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति सचेत रहन उहाँले सर्वसाधारणलाई आग्रह गर्नुभयो।
“सधैँ चटकिला र आकर्षक नारामा मात्रै परेर मतदान गर्दै जाने हो भने देश र जनताको विकास कहिले हुन्छ ?” भन्ने प्रतिप्रश्न गर्दै उम्मेदवार रुङटाले यसपटक नेपाली काँग्रेसलाई मतदान गर्न आह्वान गर्नुभयो। उहाँले विगत २० वर्षमा हुन नसकेको विकास नेपाली काँग्रेसका सभापति गगन थापाको नेतृत्वमा बन्ने काँग्रेस सरकारले आगामी पाँच वर्षभित्र गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाली काँग्रेस र पार्टी सभापति गगन थापासँग देश विकासका लागि स्पष्ट योजना, नीतिगत स्थायित्व र दृढ संकल्प रहेको उल्लेख गर्दै उहाँले आगामी पाँच वर्षका लागि देश र जनताको हितमा काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो।
विभिन्न पार्टीका उम्मेदवारहरूले फैलाउँदै हिँडेको भ्रम, जालझेल र झुटा आश्वासनमा नपरी यसपटक काँग्रेसलाई मतदान गरे देश तथा जनतामैत्री आर्थिक नीति निर्माण गरिने, विकासको गति तीव्र बनाइने र रोजगारी सिर्जनाको वातावरण तयार गरिने उहाँले मतदातालाई विश्वास दिलाउनुभयो।
चुनाव जित्नका लागि बारम्बार पार्टी फेर्ने, झुटा आश्वासन बाँड्ने र सत्ताको लिप्सामा केन्द्रित नेताहरूलाई पुनः मतदान गरे आगामी पाँच वर्ष पनि नेपाली जनताले दुःख पाउने निश्चित रहेको भन्दै उहाँले विगतबाट पाठ सिक्न सबैलाई आग्रह गर्नुभयो। वर्गीय हित सुरक्षित गर्दै उज्ज्वल भविष्य निर्माणका लागि नेपाली काँग्रेसलाई मतदान गरी गगन थापाको नेतृत्वमा बहुमतको सरकार बनाउन उहाँले आह्वान गर्नुभयो।
पिपरा धर्मशालामा आयोजित भेटघाट कार्यक्रममा स्थानीय मतदाताहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै नेपाली काँग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पिपरा टोलमा देखिएको सडक समस्याको समाधानका लागि काँग्रेसले पहल सुरु गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार केही दिनभित्रै मधेस प्रदेश सरकारले उक्त सडक निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गर्ने तयारी गरेको छ।
त्यसैगरी, वडामा देखिएका श्मशान घाट, कब्रगाह तथा मन्दिर व्यवस्थापनसम्बन्धी समस्याहरू समाधान गर्न वीरगन्ज महानगरपालिका र प्रदेश सरकारसँग समन्वय गरी पहल भइरहेको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा नेपाली काँग्रेस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मी, महाधिवेशन प्रतिनिधि प्रकाश उपाध्याय, पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, सचिव हरि यादव, पूर्व सभापति भोला साह कलवार, उपसभापति अनिल सिंहलगायत पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


