पर्सागढी । सबैया साझेदारी वन उपभोक्ता समूह, सबैयाटाँडीको लामो समयपछि साधारणसभा सम्पन्न भएको छ। साधारणसभाबाट लखनलाल साह सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्।
पर्सा जिल्लाकै पहिलो साझेदारी वनका रूपमा परिचित सबैया साझेदारी वनमा प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण लामो समयदेखि साधारणसभा हुन सकेको थिएन। प्रतिनिधि छनोट प्रक्रिया नियमविपरीत भएको दाबी गर्दै जिल्ला अदालतदेखि उच्च अदालतसम्म मुद्दा पुगेको थियो। अदालतले प्रतिनिधि छनोटलाई वैधानिक ठहर गरेपछि वन नियमावली २०७९ को नियम ५६ बमोजिम शनिबार साधारणसभा सम्पन्न गरिएको हो।
साधारणसभाको बन्द सत्रबाट अध्यक्षमा लखनलाल साह, उपाध्यक्षमा असलम आलम र सदस्यमा शेख नेसाद अहमद सर्वसम्मत निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि साहसहित नेक महमद अन्सारी, हिरालाल राउत कुर्मी र समसुल होदा अन्सारी गरी चार जनाको उम्मेदवारी परेकोमा तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि साह सर्वसम्मत चयन भएका हुन्।
उपाध्यक्ष पदका लागि एक मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत रामनारायण कुर्मीले जानकारी दिए। उनका अनुसार १३ सदस्य पदका लागि ५९ जनाको उम्मेदवारी परेको छ भने सदस्यहरूको निर्वाचन आइतबार हुने छ।
जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारको अध्यक्षतामा सम्पन्न साधारणसभाका प्रमुख अतिथि मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरीले लामो समयदेखि रोकिएका वनसम्बन्धी कामहरू अब सुचारु हुने विश्वास व्यक्त गरे। उनले वन संरक्षणमा सबै तहको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै वन विनाश भए चुरे क्षेत्र प्रभावित भई उर्बर भूमि मरुभूमिमा परिणत हुने चेतावनी दिए।
कार्यक्रममा साझेदारी वन उपभोक्ता महासंघका संस्थापक अध्यक्ष रामरुप प्रसाद कुर्मी, मधेस प्रदेश संयोजक गणेश साह, गढीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सोहरुम गदी, सबैया साझेदारी वनका संस्थापक अध्यक्ष सत्यनारायण दास थारुलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सबैया साझेदारी वनमा वीरगञ्ज महानगरपालिकाका ३० वटा वडा र पर्सागढी नगरपालिकाका २ वटा वडा गरी कुल २५८ प्रतिनिधि रहेका छन्। कार्यक्रमको स्वागत मन्तव्य जिल्ला वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदले प्रस्तुत गरेका थिए भने सहजीकरण वन अधिकृत जवाहरलाल प्रसाद कुर्मीले गरेका थिए।


