वीरगञ्ज, २०८२ माघ १ — नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया र पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकसँगै वीरगञ्ज–२५, सिरिसियामा रहेको मानव सेवा आश्रमको अवलोकन भ्रमण गर्नुभएको छ।
भ्रमणका क्रममा आश्रममा आश्रित आमाबुबाहरूका लागि दिउँसोको खाजा व्यवस्थासहित अत्यावश्यक खाद्यान्न सामग्री तथा नगद १० हजार रुपैयाँ सहयोग प्रदान गरिएको मानव सेवा आश्रम वीरगञ्ज शाखाका संस्थापक देवेश गुप्ताले जानकारी दिनुभयो।
कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक प्रकाश थारु, कमल चौघाई, डा. निरज सिंह, डा. प्रिति यादव, मौसमी श्रेष्ठलगायत आश्रमका स्वयंसेवकहरू ओमकुमार झा, सोनु चौरसिया, पियुष कानुन, सुजित गुप्ता, प्रधुमन सराफ, पवन कलवार र आर्यन गुप्ताको उपस्थिति रहेको थियो।
सो अवसरमा बोल्दै आइजीपी कार्कीले मानव सेवा आश्रमले समाजका असहाय तथा बेसहारा नागरिकका लागि गर्दै आएको सेवाको उच्च प्रशंसा गर्नुभयो। साथै उहाँले नेपाल प्रहरीको तर्फबाट आश्रममा २४सै घण्टा एक जना प्रहरी खटाइएको जानकारी दिँदै, आगामी दिनहरूमा पनि आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समाजसेवा र मानवीय संवेदनाको उदाहरणका रूपमा रहेको मानव सेवा आश्रमको कार्यप्रति प्रहरी नेतृत्वको यस प्रकारको सहयोगले आश्रमका आश्रित तथा स्वयंसेवकहरूमा उत्साह थपिएको छ।


