वीरगञ्ज । माघे खिचडी मूल समारोह समिति पर्साले माघ १ गते वीरगञ्जमा माघे पर्वलाई उल्लासपूर्वक मनाउने सम्पूर्ण तयारी सम्पन्न भएको जनाएको छ। आज नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले कार्यक्रमबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो।
कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीका अनुसार आदिवासी थारु समुदायको नयाँ वर्ष २६५० को अवसरमा शुभकामना आदान–प्रदानसँगै विविध सांस्कृतिक तथा परम्परागत कार्यक्रमहरू आयोजना गरिनेछ। कार्यक्रममा थारु समुदायका मौलिक नाच–गीत, घुम्टो, सामा–चकेवा, झम्टा, पूर्वी थारु नृत्य, बालबालिकाद्वारा प्रस्तुत गीत–नृत्य तथा बालकला प्रदर्शनी समेटिनेछ।
त्यसैगरी थारु परम्परासँग जोडिएका घोङ्गी, केकडा, माछा, परेवा, हाँस, कुखुरा, चिचरलगायतका परिकारहरूको प्रदर्शनीसमेत राखिने समितिले जनाएको छ, जसले पर्वको मौलिकता झल्काउने अपेक्षा गरिएको छ।
आर्थिक समिति संयोजक नन्दकिशोर पञ्जियारका अनुसार माघ ३० गते पावरहाउस चोकबाट मकालु हुँदै घण्टाघरसम्म मोटरसाइकल र्याली निकालिनेछ भने सोही दिन साँझ ६ बजे दीप प्रज्वलन कार्यक्रम हुनेछ। माघ १ गते रक्तदान कार्यक्रमसँगै विभिन्न सांस्कृतिक प्रस्तुति राखेर पर्वलाई अझ आकर्षक बनाइने योजना छ।
समितिले पर्सा जिल्लाका सम्पूर्ण आदिवासी जनजाति समुदाय तथा सर्वसाधारण नागरिकलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेको छ।
पत्रकार सम्मेलनमा थारु पत्रकार सङ्घका अध्यक्ष शम्भु महत्त्व थारु, प्रचार–प्रसार संयोजक दिपेन्द्र चौधरी, सांस्कृतिक संयोजक विजया ओझैया, सुरक्षा संयोजक विकास चौधरीलगायतको उपस्थिति रहेको थियो।


