बारा, कोल्हबी ।
कोल्हबीमा सञ्चालन भइरहेको प्रथम थारू माघि सांस्कृतिक महोत्सव–२०८२ को दोस्रो तथा समापन दिन समुदायमुखी स्वास्थ्य कार्यक्रमले विशेष ध्यान खिचेको छ। नया कदम नेपालले आयोजना गरेको निःशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविरमा बिहानैदेखि स्थानीय नागरिकको उल्लेख्य उपस्थिति देखिएको थियो।
शिविरमार्फत रक्तचाप र मधुमेह परीक्षण, तौल मापन, सामान्य स्वास्थ्य जाँच, चिकित्सकीय परामर्शसहित आवश्यक औषधि निःशुल्क रूपमा वितरण गरिएको थियो। स्वास्थ्य सेवाप्रति स्थानीयको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी बनेको आयोजक पक्षले जनाएको छ।
नया कदम नेपालका स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सक्रिय टोलीले दिनभर निरन्तर सेवा प्रदान गर्दै सयौँ नागरिकको स्वास्थ्य परीक्षण र उपचारमा सहयोग पुर्याएको थियो। धेरै सेवाग्राहीले महोत्सवसँगै यस्ता उपयोगी सामाजिक कार्यक्रम जोडिएकोमा खुशी व्यक्त गरेका छन्।
संस्थाका प्रतिनिधिहरूले सांस्कृतिक पर्व मनाउने क्रममा समुदायको स्वास्थ्यलाई पनि समान रूपमा प्राथमिकता दिइएको उल्लेख गर्दै आगामी दिनमा यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
शिविर सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति नया कदम नेपालले धन्यवाद व्यक्त गरेको छ। “स्वास्थ्य, सेवा र समाजप्रति हाम्रो निरन्तर प्रतिबद्धता रहनेछ,” संस्थाले स्पष्ट पारेको छ।


