काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए)ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा हुने कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको प्रस्ट पारेको छ।
संघले सार्वजनिक गरेको विज्ञप्तिमा आफ्नो संस्थाको तर्फबाट अमेरिकामा हालसम्म युवासँग सम्बन्धित कुनै कार्यक्रम आयोजना नभएको उल्लेख गरिएको छ। साथै, मन्त्री गुप्ताको नाम जोडेर फैलाइएका सूचनाहरू भ्रामक रहेको जनाइएको छ।
एनआरएनए एनसीसी यूएसएले आफ्नो नाम, ईआईएन नम्बर तथा आधिकारिक वेबसाइट दुरुपयोग गरी अनुमति नलिई कार्यक्रम आयोजना गर्ने प्रयास तथा मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको पनि जनाएको छ।
संघले स्पष्ट रूपमा चेतावनी दिँदै आधिकारिक स्वीकृति बिना गरिने कुनै पनि कार्यक्रम, भ्रमण वा फन्डरेजिङ गतिविधि गैरकानुनी र मान्य नहुने बताएको छ। यस्ता कार्यमा संलग्न नहुन सबैलाई सजग रहन समेत आग्रह गरिएको छ।


