काठमाडौं — नेकपा (एमाले) को ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालय परिसरभित्र एक थान पेस्तोल फेला परेको छ। कार्यालय सरसफाइ गर्ने क्रममा झाडीभित्र लुकाइराखिएको अवस्थामा उक्त हतियार भेटिएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार मंगलबार दिउँसो सरसफाइ भइरहेको बेला कामदारले पेस्तोल देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। प्रारम्भिक जाँचमा उक्त पेस्तोल निकै खिया लागेको र प्रयोग गर्न नसकिने अवस्थामा रहेको पाइएको छ।
प्रवक्ता जोशीले बताएअनुसार उक्त हतियार जेन्जी आन्दोलनको समयमा प्रहरी कार्यालयबाट लुटिएको र त्यसपछि हराएको हतियारमध्ये एक हुन सक्ने आशंका गरिएको छ। “हतियार कसले लुट्यो, कसरी यहाँसम्म आइपुग्यो र कसले लुकायो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ,” उनले भने।
घटनाबारे प्रहरीले विस्तृत छानबिन अघि बढाएको र आवश्यक कानुनी प्रक्रिया अपनाइने जनाएको छ।


