वीरगन्ज, ९ पुस — बंगलादेशमा एक हिन्दु युवालाई जिउँदै आगो लगाएर हत्या गरिएको घटनाप्रति गहिरो विरोध जनाउँदै वीरगन्जमा महिला, युवती तथा छात्राहरू सडकमा उत्रिएका छन्। विश्व हिन्दु परिषद् नेपाल, महिला विभागको नेतृत्वमा बुधबार आयोजित प्रदर्शनमा ठूलो संख्यामा महिलाहरूको सहभागिता रहेको थियो।
ठाकुरराम बहुमुखी क्याम्पस अगाडिबाट सुरु भएको विरोध जुलुस आदर्शनगर, माइस्थान र घण्टाघर चोक हुँदै नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो। त्यहाँ प्रदर्शनकारीहरूले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा बंगलादेशमा ३० वर्षीय दिपुचन्द्र दासको हत्या प्रकरणमा संलग्न सबै दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न माग गरिएको छ। साथै उक्त घटनाको स्वतन्त्र, निष्पक्ष र अन्तर्राष्ट्रिय निगरानीमा छानबिन गराउन नेपाल सरकारले बंगलादेश सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने माग पनि समावेश गरिएको छ।
प्रदर्शनकारीहरूले बंगलादेशमा रहेका हिन्दु अल्पसंख्यक समुदायको जीवन, सम्पत्ति, धार्मिक स्वतन्त्रता तथा मठ–मन्दिरको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले औपचारिक दबाब दिनुपर्ने बताएका छन्। यस घटनाप्रति नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत आधिकारिक रूपमा विरोध जनाउनुपर्ने मागसमेत उनीहरूको छ।
संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी मञ्चहरूमा यो विषय उठाई बंगलादेशमाथि कूटनीतिक दबाब सिर्जना गर्नुपर्ने तथा नेपालस्थित बंगलादेशी दूतावासमार्फत घटनाबारे स्पष्टिकरण माग गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
यसका साथै रोहिङ्ग्या तथा बंगलादेशीको नाममा नेपालमा भइरहेको अवैध घुसपैठ, कट्टरपन्थी गतिविधि र सम्भावित आतंकवादी सञ्जालमाथि कडा निगरानी गर्न सरकारसँग माग गरिएको छ। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षाको संरक्षणका लागि सरकार गम्भीर हुनुपर्ने उनीहरूको भनाइ छ।


