पर्सा । केही दिनयता तराई–मधेश क्षेत्रमा चिसोको मात्रा असामान्य रूपमा बढेपछि बारा, पर्सा र रौतहटका विभिन्न स्थानीय तहले विद्यालयमा जाडो बिदा घोषणा गरेका छन् । अत्यधिक शीतलहरका कारण विद्यार्थीको स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै स्थानीय सरकारहरूले पठन–पाठन अस्थायी रूपमा स्थगित गरेका हुन् ।
पर्सा जिल्लामा वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका, पकहामैनपुर तथा छिपहरमाई गाउँपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरूमा जाडो बिदा दिएका छन् । वीरगंज महानगरपालिकाले पुस ७ गतेदेखि ९ गतेसम्म तीन दिनका लागि सबै विद्यालयमा कक्षा सञ्चालन रोक्ने निर्णय गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाका अनुसार उक्त बिदा वर्षे सट्टे बिदाबाट समायोजन गरिनेछ । त्यसपछि पुस १० गते क्रिसमसको सार्वजनिक बिदा, पुस ११ गते शैक्षिक क्यालेन्डरअनुसार बिदा र पुस १२ गते शनिबार परेकाले पुस १३ गतेदेखि मात्रै विद्यालय नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।
यसैबीच, पकहामैनपुर गाउँपालिकाले पुस ८ र ९ गते दुई दिन जाडो बिदा दिने निर्णय गरेको छ भने छिपहरमाई गाउँपालिकाले पनि सोही मितिमा विद्यालय बन्द रहने जानकारी दिएको छ । गाउँपालिकाहरूले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो निर्णय लिएको बताएका छन् ।
बारामा पनि चिसोको प्रभाव देखिएको छ । परवानीपुर गाउँपालिकाले अत्यधिक चिसोका कारण विद्यालयमा बालबालिकाको उपस्थिति न्यून भएपछि पुस ७ देखि पुस ११ गतेसम्म पाँच दिनका लागि सबै सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यस्तै, सिम्रौनगढ नगरपालिकाले पुस ७ र ८ गते दुई दिनका लागि नगरभित्रका सबै विद्यालयमा पठन–पाठन स्थगित गरेको छ ।
रौतहटमा गौर नगरपालिकाले समेत चिसो बढ्दै गएको भन्दै नगरक्षेत्रभित्र सञ्चालित सामुदायिक तथा निजी विद्यालयहरूमा बिदा दिएको छ । नगरपालिकाका अनुसार पुस ८ गतेदेखि शुक्रबारसम्म विद्यालयमा सार्वजनिक बिदा लागू गरिएको हो ।
एक सातायता तराई–मधेशमा बाक्लो हुस्सु, चिसो हावा र घट्दो तापक्रमका कारण जनजीवन प्रभावित बनेको छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा र दैनिक ज्यालादारी मजदुरहरू बढी समस्यामा परेका छन् । स्थानीय तहहरूले आवश्यक सतर्कता अपनाउन र अत्यावश्यक बाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेका छन् ।


