सर्लाही । मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका चिनी उद्योगहरू यस सिजनमा क्रमशः सञ्चालनमा आएका छन् । हालसम्म सर्लाहीमा दुई र महोत्तरीमा एक गरी तीन वटा चिनी मिलले उखु पेल्न सुरु गरेका छन् भने केही उद्योग अझै तयारीकै चरणमा छन् ।
सर्लाही जिल्लामा अवस्थित इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहले उखु पेल्ने काम सुरु गरेका हुन् । इन्दुशङ्कर चिनी उद्योगका अनुसार सोमबार बिहानदेखि औपचारिक रूपमा मिल सञ्चालनमा ल्याइएको हो । उद्योगमा रहेका दुई वटा मिलमध्ये सुरुमा ३५ हजार क्विन्टल क्षमताको मिल प्रयोग गरी उखु पेल्न थालिएको जनाइएको छ । किसानबाट उखु आपूर्ति बढेपछि दुवै मिल पूर्ण रूपमा सञ्चालन गर्ने तयारी उद्योगको छ ।
यस वर्ष इन्दुशङ्कर चिनी उद्योगले चैत महिनासम्म मिल चलाएर करिब ३५ लाख क्विन्टल उखु प्रशोधन गर्ने लक्ष्य लिएको जनाएको छ ।
त्यसैगरी महालक्ष्मी चिनी उद्योग बगदहले पनि दुई दिनअघिदेखि उखु पेलिरहेको छ । उद्योग प्रशासनका अनुसार शनिबार मध्याह्नबाट उत्पादन सुरु गरिएको हो । दैनिक २० हजार क्विन्टल उखु प्रशोधन गर्न सक्ने क्षमता रहेको उक्त उद्योगले यस सिजनमा २० लाख क्विन्टलभन्दा बढी उखु पेल्ने योजना बनाएको छ ।
तर सर्लाहीकै दक्षिणपश्चिम क्षेत्रमा रहेको अन्नपूर्ण चिनी उद्योग धनकौल भने तत्काल सञ्चालनमा नआउने भएको छ । उद्योग सञ्चालकले पुस १५ गतेतिर मिल चलाउने तयारी भइरहेको बताए पनि अघिल्ला वर्षको उखु खरिदको बक्यौता रकम नतिरेका कारण उद्योग आर्थिक सङ्कटमा परेको छ । बक्यौता माग गर्दै केही समयअघि किसानहरूले उद्योगविरुद्ध आन्दोलनसमेत गरेका थिए ।
उता, महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले पनि सोमबारदेखि उखु पेल्न सुरु गरेको छ । तर शीतलहरका कारण उखु आपूर्ति प्रभावित हुँदा मिलले सुरुबाटै कच्चा पदार्थको अभाव झेल्नुपरेको जनाएको छ । उद्योगका अनुसार दैनिक ५५ हजार क्विन्टल उखु प्रशोधन गर्न सक्ने क्षमता भए पनि हाल मिल यार्डमा करिब १५ हजार क्विन्टल उखु मात्र पुगेको छ, जसले सीमित समयका लागि मात्र मिल चलाउन सम्भव भएको छ ।
किसानहरूले यस वर्ष तराई क्षेत्रमा शीतलहर छिट्टै सुरु भएकाले उखु ढुवानी र आपूर्तिमा समस्या आएको बताएका छन् । उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अनुसार पछिल्ला केही दिनदेखि घाम नलाग्दा खेतीमा प्रतिकूल असर परेको छ । यद्यपि पेल्ने काम भर्खरै सुरु भएकाले आगामी दिनमा उखु आपूर्ति क्रमशः सहज हुँदै जाने अपेक्षा गरिएको छ ।


