निरञ्जन शाह,
वीरगञ्ज । दिनप्रतिदिन फोहरले ढाकिँदै दुर्गन्धको केन्द्र बन्दै गएको श्रिसिया नदीको संरक्षणका लागि वीरगञ्जका जेन–जी युवाहरू मैदानमा उत्रिएका छन्। विभिन्न सामाजिक संघ–संस्थाले पटक–पटक आवाज उठाउँदा पनि नदीको अवस्था नबदलिएको भन्दै युवाहरूले अब आफैं अग्रसर भई सफाइ अभियान सुरु गरेका हुन्।
शनिबार किशन सर्राफको नेतृत्वमा रानिघाट क्षेत्रमा श्रिसिया नदी किनार सफा गरिएको छ। अभियानका क्रममा नदीमा थुप्रिएको प्लास्टिक, फोहर तथा अन्य फोहोरजन्य सामग्री हटाइएको थियो। साथै, अत्यधिक प्रदूषित र दुर्गन्धित पानी नमूना संकलन गरी जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगञ्ज महानगरपालिकामा बुझाइँदै तत्काल ध्यान दिन आग्रह गरिएको छ।
अभियान संयोजक सर्राफले श्रिसिया नदीको अवस्था दिनानुदिन गम्भीर बन्दै गएको तर सरोकारवाला निकायहरू निष्क्रिय देखिएको गुनासो गरे। उनले भने, “अब चरणबद्ध रूपमा कार्यक्रम गर्दै श्रिसिया नदी सफाइ र संरक्षणका लागि निरन्तर दबाब सिर्जना गरिनेछ।”
यस अभियानमा राजन श्रीवास्तव, विक्की सर्राफ, राज शाह, आयुष गुप्ता, ओशन गुप्ता, पवन यादव, विक्की गुप्ता, ऋषु वर्मा, शिवराज पटेल, अजय महतो, सुरेश बिरादी, आकाश दास, एलेक्स शाह र सुजीतलगायत युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अभियन्ताहरूले श्रिसिया नदीको प्रदूषण नियन्त्रणका लागि तत्काल प्रभावकारी योजना, नियमित अनुगमन र दीर्घकालीन समाधान आवश्यक रहेको जनाउँदै सरकार तथा स्थानीय तहले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने माग गरेका छन्।


