४ पुस, काठमाडौं । गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका प्रमुख अगुवामध्ये एक शरिफ उस्मान हादीको निधनपछि राजधानी ढाकासहित देशका विभिन्न भागमा तनाव फैलिएको छ । उनको मृत्युपछि बिहीबारदेखि विरोध प्रदर्शन उग्र बन्दै हिंसात्मक घटनाहरू देखिएका छन् ।
ढाकामा गोली प्रहारबाट गम्भीर घाइते भएका हादीलाई थप उपचारका लागि सिंगापुर लगिएको थियो । उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् । ढाकाको धानमन्डी, शाहबागलगायत स्थानमा प्रदर्शनसँगै तोडफोड र आगजनीका घटना भएका छन् ।
बीबीसीका अनुसार प्रदर्शनकारीहरूले बिहीबार रातभर राजधानीका विभिन्न क्षेत्रमा आक्रमण गरेका थिए । यस क्रममा बंगलादेशका दुई ठूला दैनिक पत्रिकाका कार्यालयहरू पनि निशानामा परेका छन् । ढाकास्थित प्रोथोम आलो र डेली स्टारको कार्यालयमा आक्रमण हुँदा भवनमा आगजनीसमेत गरिएको थियो । आगलागीका बेला भवनभित्र रहेका पत्रकारहरू केही समय फसेका थिए । पछि सेना, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिँदै पत्रकारहरूलाई सुरक्षित बाहिर निकालिएको थियो ।
हिंसा चर्किएपछि अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले बिहीबार राति ११:२० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकलाई संयम अपनाउन आग्रह गरेका छन् । उनले अफवाह र भ्रामक प्रचारमा नपर्न तथा हतारमा निर्णय नगर्न अपिल गरेका छन् । बीबीसीका अनुसार युनुसले शनिबार राजकीय शोक घोषणा गर्ने जानकारी पनि दिएका छन् ।
उता, इन्कलाब मञ्चले सामाजिक सञ्जालमार्फत हादीका परिवारले शुक्रबार उनको शव बंगलादेश ल्याउने तयारी गरिरहेको जनाएको छ । गत शुक्रबार ढाकाको एक मस्जिदबाट बाहिरिँदै गर्दा हादीमाथि गोली प्रहार भएको थियो । टाउकोमा गोली लागेपछि उनी गम्भीर घाइते भएका थिए ।
हादीको निधनप्रति बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का कार्यवाहक अध्यक्ष तारिक रहमान, जमात–ए–इस्लामी, नेशनल सिटिजन्स पार्टी (एनसीपी)लगायत विभिन्न राजनीतिक दलका नेताहरूले शोक व्यक्त गरेका छन् ।
मृत्युको खबर फैलिनासाथ प्रदर्शनकारीहरूले ढाकाको धानमन्डी–३२ स्थित शेख मुजीबको घर र छायानाट सांस्कृतिक भवनमा समेत आक्रमण गरी तोडफोड तथा आगजनी गरेको बीबीसीले जनाएको छ । घटनापछि शुक्रबार दुवै अखबारको छापा संस्करण प्रकाशित भए पनि अनलाइन सेवा भने लगभग ठप्प रहेको बताइएको छ ।
को हुन् शरिफ उस्मान हादी ?
शरिफ उस्मान हादी गत वर्ष अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनका चर्चित नेतामध्ये एक थिए । उनी शेख हसिनाविरोधी इन्कलाब मञ्चका सदस्य थिए र आउँदो फेब्रुअरीमा हुने भनिएको निर्वाचनका लागि सम्भावित उम्मेदवारका रूपमा हेरिएका थिए । आक्रमणअघि उनी ढाका–८ क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रचारमा जुटिरहेका थिए ।
इन्कलाब मञ्च गत वर्ष जुलाईमा भएको विद्यार्थी आन्दोलनपछि चर्चामा आएको समूह हो । यस समूहलाई कट्टरपन्थी संगठनसँग जोडिएको तथा अवामी लिगलाई कमजोर बनाउने प्रयास गरेको आरोप लाग्दै आएको थियो । यद्यपि विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका खेले पनि युनुस नेतृत्वको अन्तरिम सरकारले पछि यो संगठन विघटन गर्दै निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाएको थियो ।


