वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले मंसिर महिनामा सम्पन्न भएका गतिविधि र उपलब्धिबारे सार्वजनिक गरेको विवरणले जिल्लामा अपराध नियन्त्रण र कानुन कार्यान्वयनतर्फ उल्लेखनीय प्रगति देखाएको छ। प्रहरी उपरीक्षक सुदीप राज पाठकका अनुसार उक्त अवधिमा पर्सा जिल्लाभर १ सय ५ वटा नयाँ मुद्दा दर्ता भएका छन्। तीमध्ये २५ वटा गम्भीर तथा जघन्य प्रकृतिका अपराध रहेका छन् भने करिब ७ करोड ६१ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिइएको छ।
प्रहरी तथ्यांकअनुसार मंसिर महिनामा जबरजस्ती करणीसम्बन्धी घटनामा ६ जना बालिका र १ जना महिलासहितका मुद्दा दर्ता भएका छन्। यसैगरी विवाहसम्बन्धी कसुरका ४, बहुविवाहका २, अपहरण तथा शरीर बन्धकसम्बन्धी १ र बाल यौन दुरुपयोगसम्बन्धी १ वटा मुद्दा दर्ता गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित विषयमा समेत प्रहरी सक्रिय देखिएको छ। यस वर्गसँग जोडिएका १४ वटा आपराधिक मुद्दामा पीडकविरुद्ध उजुरी दर्ता गरिएको छ। उजुरीतर्फ हेर्दा घरेलु हिंसाका ७७ र सामाजिक हिंसाका ९७ उजुरी प्रहरीकहाँ पुगेका छन्। ती उजुरीमा पीडित र प्रतिवादीको उमेर, मुद्दाको अवस्था, मिलापत्र वा अदालतमा पठाइएको विवरणसमेत समेटिएको प्रहरीले जनाएको छ।
आर्थिक अपराधको क्षेत्रमा पनि पर्सा प्रहरीले निगरानी कडा बनाएको छ। मंसिर महिनामा बैंकिङ तथा आर्थिक कसुरका २९ वटा मुद्दा दर्ता भएका छन्। साथै ठगीका २ र अनुचित लेनदेनसम्बन्धी १ वटा मुद्दा पनि प्रहरी कारबाहीमा परेका छन्। अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका ८३ जना फरार प्रतिवादी पक्राउ परेका छन् भने विगत करिब २० वर्षदेखि फरार रहेका २ सय जना प्रतिवादीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
राजस्व चुहावट र भन्सार छली नियन्त्रणमा पनि उल्लेखनीय सफलता हासिल भएको प्रहरीको दाबी छ। अवैध रूपमा भन्सार छली भित्र्याइएका ७ करोड ६१ लाख ५० हजार ८ सय ३७ रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरिएको जनाइएको छ।
यस अवधिमा जिल्लामा २१ वटा विपद् सम्बन्धी घटना समेत भएका छन्। ती घटनामा २ वटा चौपायाको मृत्यु भएको छ भने ७ जना व्यक्ति घाइते भएका छन्। विपद्का कारण करिब १ करोड ४१ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
पर्सा प्रहरीले आगामी दिनमा पनि अपराध नियन्त्रण, शान्ति सुरक्षा मजबुत बनाउने र कानुनको प्रभावकारी कार्यान्वयनमा थप कडाइका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।


